सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस संघीय समितिको भवन कोटेश्वरमा भव्यताका सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यमा स्थापना दिवस सम्पन्न भएको हो ।

स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री तामाङले आदिवासी जनजातिको हक अधिकारका लागि नेपालको संविधान २०७२ संसारकै नमूना र जातजतिको हक अधिकारको लागि सुनिश्चित गरेको दावी गरे । मन्त्री तामाङले अझै पनि संविधान संशोधन गर्न मिल्ने ठाउँहरु प्रसस्तै रहेका हुनाले अपुरो रहेका जनजातिले प्राप्त गर्नुपर्ने हक अधिकार थप गर्न सकिने सम्बोधनका क्रममा बताए । मन्त्री तामाङले कार्यक्रमको सफलताको शुभकामना दिँदै जनजातिहरुको हक अधिकार सहित पहिचान र समनताको पक्षमा एक्येवद्धता जनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले धेरै आदिवासी जनजातिहरुको संघ संस्थाहरु आन्तरिक द्वन्द्वमा रहेको र द्वन्द्वले गर्दा हामी अगाडि बढ्न नसकिएको बताए । त्यहि द्वन्द्वको कारण र अन्य वाह्य कुराहरु आयोगमा गुनासोहरु आउने गरेको समेत बताए । सहयोग गर्नुपर्यो भनेर कुनै पनि जातिय संघ संस्था आयो भने मात्रै आयोगले सहयोग गर्ने बताए । तथापि जनजातिको हक अधिकार र आफ्नो पहिचानको लागि लडाई गरेर पनि प्राप्तिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष जनक राईले जनजातिले बोलिने मातृभाषाहरु लोप हुँदै गएकोमा दुःख व्यक्त गर्दै भावी आउने पुस्ताले मातृभाषाको संम्बर्द्धनका निम्ति चुनौति रहेको उल्लेख गरे । त्यसका निम्ति वर्तमान भाषाविद्हरुले सचेतना अपनाई भाषा संरक्षणमा लाग्नुपर्ने सुझाए । सम्बोधनका क्रममा उपाध्यक्ष राईले प्रदेश नम्बर १ लाई पहिचानको आधारमा नामाकरण गर्नुपर्ने बताए ।

पूर्व माननीय तथा प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले ३६औं स्थापना दिवस मनाई रहँदा सुनुवार सेवा समाजले अनगिन्ति उकाली ओराली पार गर्दै सिमित स्रोत साधान र सिमित सुनुवार समुदायबीचबाट स्थापना भएको सुनुवार सेवा समाजलाई आज सबै जाति सबै भाषाभाषी र सिंगो देशले यो संस्था छ भनेर चिनेको र प्रत्येक सुनुवारले गर्व गर्नुपर्ने बताए । कुनैपनि संघसंस्था स्थापित गर्नको निम्ति ईमान्दारिता र निष्ठापूर्वक लागि पर्नुपर्ने बताउँदै सुनुवारले प्रथम अध्यक्षदेखि वर्तमान अध्यक्ष र पदाधिकारीहरुलाई युगिन अभिभारा पुरा गर्नका लागि शुभ कामना व्यक्त गरे ।

संस्थाका वर्तमान अध्यक्ष अमृत बहादुर सुनुवारले २०४४ साल फागुन ९ गते देवी बहादुर सुनुवार हाँवालीको नेतृत्वमा तदर्थ समिति गठन गरि स्थापना भएको सुनुवार सेवा समाज अहिले ३६औं स्थापना दिवस मनाईरहँदा विभिन्न चरणहरु पार गर्दै संघीय संरचनासम्म आईपुग्दा विभिन्न स्थानीय स्तरमा वडा, गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेशमा सुनुवार सेवा समाज गठन गरिएको जानकारी गराए । कार्यक्रमको पहिलो उदघाटन समारोह समापन गर्दै अध्यक्ष अमृत सुनुवारले उपस्थित सम्पूर्ण सुनुवार दाजुभाइ, दिदीबहिनी, साधारण सदस्य, आजिवन सदस्य, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि, पदाधिकारी सदस्य, पत्रकार लगायत अतिथिहरुलाई धन्यवाद व्यक्त गरे ।

स्थापना दिवस कार्यक्रममा आदिवासी जनजाति महासंघका महासविच दिवस राई, आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष अनुप चौधरी, सुनुवार सेवा समाजका संस्थापक प्रेम बहादुर सुनुवार “हाँवाली” सुनुवार सेवा समाजका पुर्व अध्यक्षद्वय मनप्रसाद सुनुवार र रणबीर सुनुवार, नेपाल सरकार उपसचिव तथा राष्ट्र सेवकका अध्यक्ष अमरदीप सुनुवार, होलिस्टिक हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एलबी सुनुवारले संस्थाका बारेमा आफ्नो भनाई राख्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शैक्षिक तथा विभिन्न क्षेत्रमा अमुल्य योगदान गरेवापत लाल बहादुर (एलबी) मुखिया र भक्तमान सुनुवारलाई प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले सम्मान गरेका थिए भने संस्थाका सचिव रमेश सुनुवारले कार्यक्रम सञ्चालन गरेका थिए ।

दोस्रो सेसन बन्द सत्रः
सुनुवार सेवा समाजको दोस्रो सेसन बन्द सत्रमा संस्थाको विभिन्न गतिविधहरुलाई पदाधिकारी तथा प्रतिनिधिहरुले सर्वसम्मत पारित गरेको छ । संस्थाको गतिविधिहरु महासचिव उत्तमकुमार सुनुवार कोइँचबु काःतिचले प्रतिवेदन पढेर सुनाएका थिए भने कोषाध्यक्ष ज्योति सुनुवारले आर्थिक प्रतिवेदन तथा संस्थाको वार्षिक बजेट प्रतिवेदन पढेर सुनाएका थिए । सो प्रतिवेदनमाथि प्रतिनिधिको तर्फबाट निर्णायक समितिका प्रचण्ड सुनुवार (रामेछाप), ललित सुनुवार (भक्तपुर) र उन्नति सुनुवार (काठमाडौं) सहित उपस्थित सम्पूर्ण पदाधिकारी, प्रतिनिधि र पर्यवेक्षकहरुले ताली बजाएर सर्वसम्मत पारित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित