सोलुखुम्बु-एमभी दुगट समूहद्वारा सञ्चालित लिखु नदी क्षेत्रका जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयले आफ्ना अधिकार, न्याय र उचित लाभको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन तथा शान्तिपूर्ण धर्ना दिएका छन्।
प्रदर्शनमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत तथा वडा नं. २ का वडाध्यक्ष मणिराज बस्नेत समेत सहभागी भई प्रभावित नागरिकका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।
प्रदर्शनकारीहरूले जलविद्युत् आयोजनाबाट प्रभावित नागरिकलाई प्राथमिक सेयरको सुनिश्चितता, स्थानीयमाथि लगाइएका मुद्दा फिर्ता, प्रहरी दमनको अन्त्य तथा आयोजनासम्बन्धी सम्पूर्ण विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले विकास आयोजनाको नाममा स्थानीय समुदायको अधिकार, वातावरणीय संरक्षण र सामाजिक न्यायमाथि आँच पुग्न नहुने बताएका छन्।
एमभी दुगर समूहले लिखु नदी क्षेत्रमा लिखु–१, लिखु–२ र लिखु–ए लगायतका जलविद्युत् आयोजना सञ्चालन तथा निर्माण गरिरहेको छ। यी आयोजनाबाट सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका विभिन्न बस्ती प्रभावित भएको स्थानीयको भनाइ छ।
प्रभावित समुदायका अनुसार आयोजनाबाट प्राप्त हुने लाभमा स्थानीयको पहुँच, वातावरणीय प्रभाव, उचित क्षतिपूर्ति तथा विगतमा भएका सहमति कार्यान्वयन नभएको विषयमा उनीहरूको मुख्य असन्तुष्टि रहेको छ।
प्रदर्शनकारीहरूले प्रभावित समुदायको अधिकार सुनिश्चित नभएसम्म संघर्षका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्। यसअघि पनि लिखु नदी क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनाका कारण स्थानीयको जीविकोपार्जन, प्राकृतिक स्रोतसाधन तथा सामाजिक अधिकारमा असर परेको भन्दै पटक–पटक आवाज उठाउँदै आएका छन्





