सोलुखुम्बु-रामेछाप र सोलुखुम्बु जिल्लाको सीमा भएर बग्ने लिखुखोलामा गयराति आएको आकस्मिक बाढीले लाछेवर जोड्ने मोटरेबल पुल बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
अविरल वर्षापछि आएको बाढीले रामेछापको उत्तरी भेगस्थित उमाकुण्ड गाउँपालिका–१ को अन्तिम मानव बस्ती लाछेवर जाने सडक अवरुद्ध बनेको हो।उमाकुण्ड गाउँपालिका–१ गुम्देलका वडाध्यक्ष ङावा तिन्डु शेर्पाका अनुसार स्थानीय बिखे खोलाबाट आएको बाढीले लिखुखोलाको बहाव थुनेपछि एक्कासि ठुलो बाढी आएको थियो। सोही बाढीले लाछेवरको फेदीस्थित सुन्दा क्षेत्रमा रहेको एउटा होटेल बगाएको उहाँले बताउनुभयो ।
बाढीका कारण दुगड ग्रुपद्वारा सञ्चालित एक जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा समेत क्षति पुगेको वडाध्यक्ष शेर्पाको भनाइ छ। हालसम्म मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो।स्थानीय वासीका अनुसार बाढीले मोटरेबल पुलसहित तीन वटा पुलमा क्षति पु¥याएको छ। पुल बगेपछि लाछेवर जाने सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ भने एउटा जलविद्युत आयोजनको ड्याम क्षेत्रमा क्षति पुगेको छ ।
बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि लाछेवर क्षेत्रका स्थानीयको आवतजावत र दैनिक आपूर्तिमा समेत समस्या भएको स्थानीयको भनाइ छ । हेडलाइन सहित





