सोलुखुम्बु-लिखुपिके गाउँपालिका–३ को आर्थिक व्यवस्थापन तथा श्री हिमगंगा माध्यमिक विद्यालय, चौलाखर्कको प्राविधिक व्यवस्थापनमा आर्थिक वर्ष २०८३/८४शुक्रवार देखि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि दिवाखाजा कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
विद्यालयका प्रधानाध्यापक हेमबहादुर बस्नेतका अनुसार शुक्रबार आयोजित उद्घाटन समारोहमार्फत कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो। विद्यार्थीहरूको पोषणमा सुधार ल्याउने, विद्यालयमा नियमित उपस्थिति बढाउने तथा सिकाइ उपलब्धिलाई थप प्रभावकारी बनाउने उद्देश्यले दिवाखाजा कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।
कार्यक्रम सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा अन्य आवश्यक समन्वयमा सहयोग गर्ने लिखुपिके गाउँपालिका, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति विद्यालयले आभार व्यक्त गरेको छ।
उद्घाटन कार्यक्रममा लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, वडा नं. ३ का वडा अध्यक्ष धुव्रबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दिवाखाजा कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्य अवस्था सुधार गर्न, शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यालयप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।





