सोलुखुम्बु —प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गीता गुरुङ्गले बजारमा खाना पकाउने ग्यासको अभाव र नागरिकले भोग्नुपरेको सास्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । सरकारले ग्यासको अभाव छैन भनेर दाबी गरिरहे पनि नागरिकहरूले बिहानदेखि बेलुकासम्म लाइनमा बस्नुपर्ने बाध्यता कायम रहेको उहाँले बताउनुभयो।
संसदमा बोल्दै सांसद गुरुङ्गले सरकारको दाबी एकातिर र नागरिकले भोगिरहेको सास्ती अर्कोतिर रहेको उल्लेख गर्नुभयो। ग्यासको अभावका कारण सर्वसाधारणको चुलो बल्न कठिन भइरहेको र घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाले सरकारको सेवा प्रवाह र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाइ थियो। केही समयअघि सरकारले ’लाइन होइन, अनलाइन’ भन्ने नारा ल्याए पनि अहिले ग्यास डिपोदेखि राहदानी विभागसम्म देखिएको लामो लाइनले सो नारालाई नै गिज्याइरहेको टिप्पणी उहाँले गर्नुभयो।
नागरिकले आश्वासनभन्दा पनि छिटो र छरितो सेवा खोजेको स्पष्ट पार्दै सांसद गुरुङ्गले आपूर्ति पर्याप्त छ भने वितरण प्रणाली किन अस्तव्यस्त बनेको भन्दै प्रश्न गर्नुभयो। ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, कालाबाजारीमा संलग्नहरूलाई कडा कारबाही गर्न र सेवा लिनकै लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको तत्काल अन्त्य गर्न उहाँले सरकारसँग जोडदार माग गर्नुभएको छ।





