सोलुखुम्बु-असार १५”जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारासहित २०८३ सालको राष्ट्रिय धान दिवस लिखुपिके गाउँपालिका–३ स्थित हिमगंगा माध्यमिक विद्यालय मा विविध कार्यक्रमका साथ मनाइएको छ।
दिवसको अवसरमा विद्यालयले धान रोपाइँ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो। रोपाइँ कार्यक्रममार्फत जलवायु परिवर्तनअनुकूल कृषि प्रविधि अपनाउँदै धान उत्पादन वृद्धि, खाद्य आत्मनिर्भरता हासिल गर्ने तथा कृषिप्रति युवापुस्ताको आकर्षण बढाउने सन्देश प्रवाह गरिएको विद्यालयका प्रधानाध्यापक हेम बहादुर बस्नेत ले जानकारी दिनुभयो।
उहाँका अनुसार विद्यालयले व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै विद्यार्थीलाई कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा सहभागीहरूले परम्परागत रोपाइँ संस्कृतिको संरक्षणसँगै आधुनिक तथा वातावरणमैत्री कृषि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। विद्यालयले यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीमा कृषि प्रतिको सम्मान, श्रमको मूल्य, सीप विकास तथा आत्मनिर्भर सोच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।





