खिजीदेम्बा-ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नं. ४ अन्तर्गतका विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई टी–सर्ट र ट्र्याकसुट वितरण गरिएको छ। आइतबार Mom Foundation Nepal को सक्रियतामा आयोजित कार्यक्रममा महादेव आधारभूत विद्यालय–चर्नालु, साहसी बालविकास केन्द्र–सञ्जाबारी, सरस्वती आधारभूत विद्यालय–पिपलडाँडा तथा कुण्डली माध्यमिक विद्यालय–डिकर्पुका विद्यार्थी लाभान्वित भएका छन्।
स्थानीयबासी कमल सुनुवारको पहल मा Mom Foundation Nepal मार्फत सहयोग जुटाइएको हो। नयाँ पोसाक पाएपछि विद्यार्थी उत्साहित देखिएका छन् भने शिक्षक तथा अभिभावकहरूले यसले विद्यार्थीको मनोबल र विद्यालयप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा शिक्षक–शिक्षिकालाई डायरीसमेत वितरण गरिएको थियो। कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष होमबहादुर सुनुवार, Mom Foundation Nepal का अध्यक्ष पासाङ छेकी शेर्पा लगायतको उपस्थिति रहेको थियो। वडा नं. ४ का विद्यालय परिवारले सहयोगदाताप्रति आभार व्यक्त गरेका छन्।





