हास्य टीभी श्रृंखला ‘सक्किगो नि’ले सोमबार १०० औं भाग सेलिब्रेसन गरेको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ स्थित रमणीय स्थल पतालेमा सिरियलको सक्सेस कार्यक्रम आयोजना गरिएको हो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त ठाउँमा सफलताको कार्यक्रम आयोजना गरिएको श्रृंखला निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले जानकारी दिनुभयो ।
६० जना कलाकारको टोली सोलुखुम्बु आइपुगेको थियो । कार्यक्रममा कलाकारलाई पुरस्कृत र सम्मान समेत गरिएको छ । सर्वोच्च शिखर सगरमाथासहित आठ हजारभन्दा अग्ला हिमालको दृश्यवलोकन गर्न सकिने भएकाले उक्त ठाउँमा कार्यक्रम गरिएको जनाइएको छ । आगामी दिनमा नेपालका अन्य पर्यटकीय थलोमा समेत कार्यक्रम गरिने निर्देशक आचार्यले बताउँनुभयो ।
कार्यक्रममा ‘सक्किगो नि’का मुख्य कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले अन्य ठाउँमा पनि यस्ता कार्यक्रम गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुर्याउने बताउँनुभयो । श्रृंखलाको १०० भाग पूरा भएपछि नयाँ कथावस्तुसहित कार्यक्रम प्रसारण हुने जनाइएको छ ।





