खुम्बु क्षेत्रमा भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम : सतर्कता अपनाउन गाउँपालिकाको आग्रह

खुम्बु क्षेत्रमा भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम : सतर्कता अपनाउन गाउँपालिकाको आग्रह

सोलुखुम्बु- खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रमा भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन स्थानीय बासिन्दा, पर्यटक, गाइड तथा भरियालाई आग्रह गरेको छ । गाउँपालिकाले बुधबार सूचना जारी गर्दै नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सूचनाका आधारमा सतर्कता अपनाउन अनुरोध गरेको हो। सूचनाअनुसार कात्तिक १२ गतेदेखि १४ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिम आँधी र हिमपहिरोको सम्भावना रहेको छ । यसबाट जनजीवन प्रभावित हुनुका साथै पदयात्रामा जोखिम बढ्न सक्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सम्भावित विपद्बाबाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा नजान तथा सम्भव भएसम्म सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न अनुरोध गरेको छ । खुम्बु क्षेत्रको पदयात्रामा रहेका पर्यटक, गाइड तथा भरियालाई मौसम पूर्वानुमान र जारी सूचनालाई आधार मानेर मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ । त्यसैगरी, उच्च नाका (हाई पास) तर्फ यात्रा गर्ने स्वतन्त्र पर्यटक (एफआईटी) लाई गाइड तथा पोर्टरबिना यात्रा नगर्न गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले कात्तिक ११ गते जारी गरेको सूचनाअनुसार समूहमा संलग्न होटल, लज, रेस्टुरेन्ट तथा सम्बन्धित निकायलाई पर्यटकहरूको अद्यावधिक अभिलेख अनिवार्य रूपमा राख्न भनिएको छ । विशेषगरी उच्च नाका जाने पर्यटकको विवरण व्यवस्थित राख्न आग्रह गरिएको छ । सम्भावित विपद्को सामना गर्न गाउँपालिकाभित्र रहेका सरकारी तथा गैरसरकारी संघसंस्था, टोल विकास संस्था, युवा समूहलगायत सबै संघसंस्थालाई तयारी अवस्थामा रहन पनि गाउँपालिकाले अनुरोध गरेको छ । मौसम प्रतिकूल हुन सक्ने भएकाले पर्यटक तथा स्थानीय बासिन्दालाई अनावश्यक जोखिम नलिन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित