सोलुखुम्बु-उपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले सञ्चारमाध्यमले समाजका सबै वर्ग, समुदाय र आवाजलाई समान प्राथमिकता दिँदै सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएकी छन्।
काठमाडौंमा आयोजित जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै रानामगरले सञ्चार क्षेत्रले सत्य, तथ्य र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्।
उनले जनआकाश मिडियाले पत्रकारितासँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र जिम्मेवार पत्रकारिताका लागि शुभकामना दिइन्।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शन्तराम विडारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो। सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो।
वार्षिकोत्सवमा कविता, गीत, सुसेली तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। चर्चित गायक गोविन्द मधुर, विष्णु परियारलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए भने दिपेश एसके र प्रतिमा राईले स्वदेशगानमा स्वागत नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा ‘फूल भिरैमा’ लोकआधुनिक गीतमा योगदान पुर्याउने कलाकारलाई कदरपत्र प्रदान गरिएको थियो।
जनआकाश साप्ताहिकले पछिल्लो १० वर्षदेखि सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत काम गर्दै आएको जनाइएको छ। मिडियाका सञ्चालक तथा प्रधान सम्पादक मोहन कार्की पत्रकारसँगै गीतकार, साहित्यकार तथा लेखकका रूपमा समेत सक्रिय छन्।
मोहन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेल, सगरमाथा आरोहण संघका अध्यक्ष दिवस पोखरेल, नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष विष्णु भण्डारी, वरिष्ठ पत्रकार भरत ढकाल, सुसेली प्रवर्धक दुर्गा अधिकारी भमरकोटे लगायतको उपस्थिति रहेको थियो।





