सोलुखुम्खु- लिखुपिके गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम शनिवार
सम्पन्न भएको छ। गएको महिना पौष २५, २६ र २७ गते लिखुपिके गाउँपालिका–४ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय, भकान्जेमा सञ्चालन भएको उक्त प्रतियोगितामा हिमगंगा माध्यमिक विद्यालयका एक सहभागी खेलाडीमाथि चन्द्रज्योति माध्यमिक विद्यालयले उजुरी दर्ता गरेपछि पुरस्कार वितरण कार्य अस्थायी रूपमा स्थगित गरिएको थियो।

उजुरीमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन पेश गरेपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिका, २०७० (संशोधनसहित, २०८०) को दफा १८ को ‘ख’ अनुसारको प्रक्रिया पूरा गरी अन्तिम नतिजा कायम गरिएको खेलकुद विकास समितिले जनाएको छ ।
छानबिनपछि कायम गरिएको नतिजा अनुसार
१० स्वर्ण पदकसहित चन्द्रज्योति माध्यमिक विद्यालय प्रथम,
८ स्वर्ण पदकसहित हिमगङ्गा माध्यमिक विद्यालय द्वितीय,
२ स्वर्ण पदकसहित बुद्ध माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण निकाय, विद्यालय, खेलाडी, प्रशिक्षक, निर्णायक तथा सहयोगी सबैप्रति लिखुपिके गाउँपालिका खेलकुद विकास समिति तथा गाउँपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।







