सोलुखुम्बु-रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका प्रभावित स्थानीयवासीले आफ्ना जायज मागप्रति जलविद्युत् आयोजना व्यवस्थापनले चरम उदासीनता देखाएको भन्दै लिखु खोलामा सञ्चालित तीन जलविद्युत् आयोजनाको कामकाज ठप्प पारेका छन्।
स्थानीयवासीले हिजोदेखि लिखु–१, लिखु–२ र लिखु–ए जलविद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रूपमा बन्द गराएका हुन्। दुवै गाउँपालिकाको सिमाना क्षेत्रमा एमभी दुगड समूहद्वारा सञ्चालित ती आयोजनाले कानुन, वातावरणीय मापदण्ड तथा सामाजिक दायित्वको पालना नगरेको आरोप स्थानीयवासीको छ।
संघर्ष समितिका संयोजक गेल्वु शेर्पाका अनुसार स्थानीय समितिले आफ्ना हकअधिकार र वातावरणीय सुरक्षासम्बन्धी मागपत्र बुझाएको ६० दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो।
स्थानीयका अनुसार आयोजनाहरू व्यावसायिक रूपमा सञ्चालनमा आएको करिब साढे दुई वर्ष बितिसक्दा पनि प्रभावित क्षेत्रका बासिन्दाप्रति पूरा गर्नुपर्ने कानुनी तथा सामाजिक दायित्वहरू कार्यान्वयन भएका छैनन्। कम्पनीले उत्पादन अनुमतिपत्रका सर्त, वातावरणीय नियम तथा सामाजिक उत्तरदायित्वका प्रावधानहरू उल्लंघन गरेको स्थानीयको दाबी छ।
प्रभावित बासिन्दाले जलविद्युत् आयोजनाले वातावरणीय सर्तहरूको गम्भीर उल्लंघन गर्दै मानव बस्ती र पर्यावरणलाई जोखिममा पार्ने गरी असुरक्षित तथा अस्थायी संरचना निर्माण गरेको आरोप लगाएका छन्। यस्ता संरचनाका कारण जुनसुकै बेला ठूलो मानवीय तथा आर्थिक क्षति हुन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
स्थानीय प्रभावित नागरिकको संयुक्त समितिले यसअघि ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा दुवै जिल्लाका सम्बन्धित वडा कार्यालयहरूलाई बोधार्थ दिँदै सात बुँदे मागपत्र समेत पेश गरेको जनाएको छ।
आन्दोलनरत स्थानीयवासीले मागहरू पूरा नभएसम्म तथा वातावरणीय र कानुनी मापदण्ड पालना गर्ने स्पष्ट प्रतिबद्धता नआएसम्म आयोजनाको काम अघि बढ्न नदिने चेतावनी दिएका छन्। साथै, अब उत्पन्न हुने मानवीय, आर्थिक, वातावरणीय तथा कानुनी क्षतिको सम्पूर्ण जिम्मेवारी आयोजना व्यवस्थापन, प्रवर्द्धक कम्पनी तथा सम्बन्धित अधिकारीहरूले लिनुपर्ने उनीहरूको भनाइ छ।





