सोलुखुम्बु-सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकास्थित मुक्लिमा शव गृह उद्घाटन गरिएको छ । गाउँपालिकाको थुलुङ दूधकोशी अस्पताल प्रांगणमा निर्माण सम्पन्न भएको उक्त संरचनाको सोमबार गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राईले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभयो।
सामाजिक न्याय, मानव अधिकार र ग्रामीण स्वास्थ्य पहुँचको सन्दर्भमा यो पहल निकै महत्वपूर्ण मानिएको छ। गाउँपालिकाको ११ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको पोष्टमार्टम गृहले अब मृतकको कानुनी परीक्षणका लागि टाढासम्म शव बोक्नुपर्ने बाध्यताको अन्त्य गर्नेछ।
पोष्टमार्टमको अभावमा धेरै घटनाहरू अन्योलमै थाँती रहँदा पीडित परिवारले न्याय पाउन कठिनाइ भोगिरहेका थिए। अब भने थुलुङ दूधकोशी गाउँपालिका मात्र होइन, छिमेकी महाकुलुङ, सोताङ र खोटाङ जिल्लाका रावाबेसी, ऐंसेलुखर्कका नागरिकलाई समेत सहज पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन समारोहमा बोल्दै भन्नुभयो, “यो गृह केवल एउटा भवन होइन, यो ग्रामीण न्यायको नयाँ आधार हो। गाउँमै पोस्टमार्टमको सुविधा हुनु भनेको हाम्रो संवेदनशीलताको प्रतिविम्ब हो।”
उहाँका अनुसार यो गृहबाट प्रहरी अनुसन्धान, कानुनी प्रक्रिया र स्वास्थ्य विवरण सङ्कलन अझ प्रभावकारी हुनेछ। यसले अपराध अनुसन्धानलाई बल पुर्याउने विश्वास लिइएको छ।
पोष्टमार्टम गृह सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन सबै कार्य पूरा भएको बताइएको छ। स्थानीय तह, स्वास्थ्य कार्यालय र प्रहरी प्रशासनको सहकार्यमा अब नियमित रुपमा पोष्टमार्टम सेवा सञ्चालन गरिनेछ।
सामाजिक न्याय र ग्रामीण सेवा पहुँचमा एउटा नयाँ कोशेढुंगा सावित हुने विश्वासका साथ उद्घाटन गरिएको यो गृहले अब मृत शरीरसँगै पीडित परिवारको न्यायप्राप्तिको बाटो छोट्याउने छ।



















Discussion about this post