सोलुखुम्बुमा एआई पत्रकारिता तालिम सम्पन्न

सोलुखुम्बुमा एआई पत्रकारिता तालिम सम्पन्न

सोलुखुम्बु, जेठ ६ । पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगसँगै कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान, सीप र प्रयोगात्मक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुद्वारा आयोजित तीन दिने “एआई पत्रकारिता तालिम” सम्पन्न भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सल्लेरीमा जेठ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको उक्त तालिम पत्रकारितामा आधुनिक प्रविधिको प्रभावकारी प्रयोगमार्फत गुणस्तरीय, छिटो र विश्वसनीय सूचना सम्प्रेषण गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । तालिममा जिल्लामा क्रियाशील २२ जना पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
तीन दिनसम्म सञ्चालन भएको सघन तालिमका क्रममा सहभागी पत्रकारहरूलाई एआई प्रविधिको व्यावहारिक प्रयोगमार्फत समाचार लेखनलाई कसरी छिटो, सरल र प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत अभ्यास गराइएको थियो । साथै डिजिटल युगअनुसार आवश्यक पर्ने भिडियो तथा अडियो सामग्री निर्माण, डिजिटल कन्टेन्ट व्यवस्थापन तथा सामाजिक सञ्जालमा सामग्रीलाई आकर्षक र प्रभावकारी ढंगले प्रस्तुत गर्ने सीपसमेत प्रदान गरिएको थियो ।
तालिमका प्रशिक्षक अजय शर्माले पत्रकारितामा एआईको प्रयोग, डिजिटल उपकरणहरूको प्रभावकारी उपयोग तथा प्रविधिमैत्री सञ्चार प्रणालीबारे सहजीकरण गर्नुभएको थियो । उहाँले एआईको प्रयोगले पत्रकारितालाई थप आधुनिक, प्रतिस्पर्धी र प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।
पछिल्लो समय प्रविधिको दुरुपयोगसँगै भ्रामक तथा गलत सूचनाको जोखिम बढ्दै गएको सन्दर्भलाई मध्यनजर गर्दै तालिममा एआईमार्फत तथ्य परीक्षण (फ्याक्ट चेकिङ) गर्ने तरिका, नक्कली तथा भ्रामक समाचार पहिचान गर्ने विधि तथा डिजिटल सुरक्षासम्बन्धी विषयमा समेत विशेष प्रशिक्षण दिइएको थियो ।
तालिम समापन कार्यक्रममा सहभागी २२ जना पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । आयोजकले आगामी दिनमा पनि पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता प्रविधिमैत्री तालिमलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित