सोलुखुम्बु:लिखुपिके गाउँपालिकाको वडा नम्बर पाँचमा रहेको भकान्जे टीस्टेट प्रालिले चिया कृषकहरूलाई लाभांश वितरण गरेको छ । बुधबार भकान्जे समिक्षालय हलमा चिया कृषकहरुसँग एक कार्यक्रम गरी शेयर तथा लाभांशबापतको रकम वितरण गरेको हो । १० हजारभन्दा कम लाभांश पाउने कृषकलाई नगद वितरण गरिएको थियो भने त्यो भन्दा बढी लाभांश पाउने कृषकहरूको रकम खातामा जम्मा गरिने भएको छ ।
कार्यक्रममा आयव्यय विवरण साथै आगामी वर्षको लागि प्रशासनिक खर्च तथा चिया उत्पादन गर्दा ध्यान दिनुपर्ने विषयमा पनि हिमालयन प्रोजेक्ट डेनमार्कका अध्यक्ष कुर्ट लम्बर्ग (पपाकुर्ट) ले छोटकरीमा चिया कृषकहरुलाई जानकारी गराएका थिए । साथै कृषकहरुको लागि कसरी फाइदा हुन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । अध्यक्ष कुर्ट लम्बर्ग (पपाकुर्ट) ले ल्यापटपमार्फत अङ्ग्रेजी भाषामा प्रस्तुत गरेको चियासम्बन्धी प्रशिक्षणलाई हिमालयन प्रोजेक्ट नेपालको कार्यकारी निर्देशक तथा भकान्जे टिस्टेट संचालक समितिकी सचिव जानकी खड्काले नेपाली भाषामा उल्था गरी कृषकहरुलाई सहजीकरण गरेकी थिइन ।
७३ जना शेयर सदस्य रहेको भकान्जे टीस्टेट प्रालिमा ६५ जना चिया कृषकहरु प्रत्यक्ष रूपमा लाभान्वित भएको हिमालयन प्रोजेक्ट नेपालको कार्यकारी निर्देशक तथा भकान्जे टिस्टेट प्रालिको संचालक समितिकी सचिव जानकी खड्काले बताइन् ।
त्यस्तै हरियो चिया ५ सय २३ किलोग्राम अर्थात् तयारी चिया १ सय ३ किलोग्राम उत्पादन गर्दै भकान्जे टीस्टेट प्रालिका अध्यक्षसमेत रहेका लिखुपिके पाँच छिम्बुका जाङ्बु शेर्पा १ नम्बरमा पर्न सफल भएका छन । सो कार्यक्रममा कृषकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
विक्रम संवत २०७६ सालबाट सुरु गरिएको उक्त भकान्जे टिस्टेट प्रालि हाल एक करोड ३० लाख बराबरको कारोबार गर्न सफल भएको छ ।
Discussion about this post