रामेछाप- रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु नदीमा निर्माणाधीन अवस्थामा रहेको लिखु-२ जलविद्युत आयोजनाको लापरबाहीले घाटमा जलाउँदै गरेको लास नदीले बगाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका एक स्थानीयको लास शनिवार साँझ बाल्दिङस्थित मार्बु दोभानमा रहेको घाटमा जलाउने क्रममा आयोजनाले स्थानीलाई थाहा नदिई पानीको बहाव बढ्ने गरी पानी खोलिदिएपछि जलाउँदै गरेको लास बगाएको हो ।
नदीलाई पूर्ण रूपमा सुकाएर सुरुङ मार्ग मार्फत सबै पानी विद्युत् उत्पादनको लागि लैजाने जलविद्युत आयोजनाले शनिवार भने नदी किनारमा रहेका मलामी स्थानीयलाई जानकारी नदिई ठुलो पानी छोडेको कारण जल्दै गरेको लास बगाएको स्थानीयहरुको भनाई छ । लास जलिरहेको बेला करिब साढे ६ बजेको समयमा नदी बगेर आयो अनि जल्दै गरेको लास बगाएर लगेको मृत्यु संस्कार गर्न आएका स्थानियहरुले बताएका छन ।
लास सँगै मृतकका दाजुभाइले नदी किनारमा फुकालेर राखेको कपडासँगै ब्याग समेत बगाएको बताईएको छ । ब्यागमा रहेको नगद पैसा, चेक बुक र अन्य महत्त्वपूर्ण सामाग्री पनि नदीले बगाएको छ ।
लिखु-२ जलविद्युत आयोजनाले नियम अनुसार १० प्रतिशत पानी छोड्नु पर्ने भए पनि नियम विपरीत नदी नै सुकाएर जलविद्युत आयोजनाले बिद्युत् उत्पादनमा गरेको कारण लास जलाउन विगत देखि नै समस्या हुँदै आएको लिखु नदी किनारका स्थानीयले बताउने गरेका छन् ।



















Discussion about this post