रामेछाप-उमाकुण्ड गाउँपालिकाको आयोजनामा मिति २०८२ साल पुस १९ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको ५ दिने बाल विकास शिक्षकको आवासीय तालिम सफलतापूर्वक सम्पन्न भएको छ। शिक्षाको सबैभन्दा आधारभूत र महत्वपूर्ण चरण मानिने प्रारम्भिक बाल विकासलाई सुदृढ बनाउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो।
सिद्वेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठीको सभाध्यक्षतामा सम्पन्न तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार रहनुभएको थियो। समापन कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले प्रारम्भिक बाल विकास नै सक्षम, सृजनशील र जिम्मेवार नागरिक निर्माणको आधार भएको उल्लेख गर्दै बालबालिकालाई सानै उमेरदेखि गुणस्तरीय शिक्षा र उचित सिकाइ वातावरण सुनिश्चित गर्न गाउँपालिकाले उच्च प्राथमिकताका साथ शिक्षामा लगानी गरिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि शिक्षक क्षमता अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा सिद्वेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदिप बस्नेत, सिद्वेश्वर शिक्षा पब्लिक क्याम्पस बाम्तीका क्याम्पस प्रमुख जगदीश बस्नेत, CIT नेपालका फिल्ड कोर्डिनेटर अनिल बस्नेत तथा पत्रकार मणिराज सुनुवारलगायत अतिथिहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले दीर्घकालीन रूपमा शैक्षिक गुणस्तर र समाजको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए।
तालिममा सामुदायिक माण्टेश्वरी सिकाइ केन्द्रका अनुभवी प्रशिक्षकहरू बबिता कार्की र फुर्लाकी शेर्पाले सहजीकरण गर्नुभएको थियो। तालिमका क्रममा बालमैत्री शिक्षण विधि, खेल तथा सिर्जनात्मक गतिविधिमार्फत सिकाइ, बालबालिकाको मनोविज्ञान बुझ्ने तरिका, कक्षाकोठा व्यवस्थापन, विद्यार्थी मूल्यांकन तथा Low Cost and No Cost शैक्षिक सामग्री निर्माणजस्ता विषयमा व्यवहारिक र जीवनोपयोगी ज्ञान प्रदान गरिएको थियो। उत्कृष्ट सहजीकरणको कदर गर्दै गाउँपालिकाको तर्फबाट प्रमुख अतिथि शेर बहादुर सुनुवारले प्रशिक्षकद्वयलाई प्रशंसा पत्रसहित सम्मान गर्नुभएको थियो।
तालिममा सहभागी ४० जना बाल विकास शिक्षकहरूले आवासीय तालिमले आपसी अनुभव साटासाट गर्ने अवसर मिलेको र आफ्नो पेशागत क्षमता थप मजबुत भएको प्रतिक्रिया दिएका छन्। सिकाइलाई रमाइलो, सुरक्षित र प्रभावकारी बनाउने नयाँ तरिका सिक्न पाएकोमा उनीहरू उत्साहित देखिएका थिए। तालिम सञ्चालनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन उमाकुण्ड गाउँपालिकाले गरेको थियो।
अन्त्यमा, तालिम सञ्चालनका लागि हल उपलब्ध गराई सहयोग गर्नुहुने सिद्वेश्वर माध्यमिक विद्यालय तथा प्राविधिक सहयोगका लागि सामुदायिक माण्टेश्वरी सिकाइ केन्द्र र CIT नेपालप्रति उमाकुण्ड गाउँपालिकाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।





