छ वर्षको प्रतीक्षापछि बाम्तीमा १० शैयाको अस्पताल उद्घाटन, अब जनशक्ति व्यवस्थापनको चुनौती

छ वर्षको प्रतीक्षापछि बाम्तीमा १० शैयाको अस्पताल उद्घाटन, अब जनशक्ति व्यवस्थापनको चुनौती

रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारमा निर्माण सम्पन्न १० शैयाको बाम्ती आधारभूत अस्पतालको उद्घाटन गरिएको छ। २०७७ सालमा शिलान्यास भएको उक्त अस्पताल ६ वर्षपछि निर्माण सम्पन्न भई शनिवार उद्घाटन गरिएको हो।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सावित्री सुनुवारको विशेष आतिथ्यता सँगै वास्तिभण्डारका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रम वडा नं.२ का वडाध्यक्ष खम्बध्वज बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
अस्पताल निर्माणका लागि संघीय सरकारबाट ८ करोड ४९ लाख रुपैयाँ र स्थानीय सरकारबाट ७० लाख रुपैयाँ गरी कुल ९ करोड १९ लाख रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले १० शय्याको उक्त अस्पताल सञ्चालनका लागि कम्तीमा २२ जना कर्मचारी आवश्यक पर्ने बताउनुभयो। अस्पताल सञ्चालन तथा सेवा प्रवाहका लागि एमबीबीएस उत्तीर्ण मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, कविराज, डेन्टल हाइजिनिस्टलगायत प्रशासनिक तथा अन्य कर्मचारी आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो।

अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न भए पनि प्रभावकारी रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्थापन प्रमुख चुनौतीका रूपमा रहेको छ। आवश्यक कर्मचारीको व्यवस्था गरी अस्पताल सञ्चालनमा ल्याउन सके स्थानीय बासिन्दाले आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवार, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरूले आ–आफ्नो भनाइ राख्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यसैगरी अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा वडा नं. ३ कुम्बकास्थलीका वडाध्यक्ष गुणबहादुर थापा ‘नवीन’, वडा नं. २ का वडा सदस्य ङावा तेम्बा शेर्पा र दलित सदस्य आसा माया गजमेरलगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
अस्पताल निर्माण सम्पन्न भएसँगै उमाकुण्ड गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। आवश्यक जनशक्ति व्यवस्थापन गरी अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।
थप तस्विहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित